सिंगो सगरमाथा चीनले दाबी गर्दा माओसँग बीपीको त्यो अडान – Nepal Press

सिंगो सगरमाथा चीनले दाबी गर्दा माओसँग बीपीको त्यो अडान

इटहरी । गत मंगलबार (मंसीर २२ गते) नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उँचाइ सार्वजनिक गरे ।

सात दशक अगाडि सन् १९५० को दशकमा स्थापित ८८४८ मिटर उँचाइ भन्दा ०.८६ मिटर अग्लियो सगरमाथा । यो उँचाइ मापन दुई कोणमा धेरै महत्वपूर्ण थियो । एक, सगरमाथालाइ सीमा बनाएका नेपाल र चीन दुवैले इतिहासमा पहिलोपटक एकै उँचाइमा सहमति भएर सार्वजनिक गरे । दुइ, सगरमाथाको देश नेपालले विश्वमा पहिलोपटक सर्वेयरहरुलाइ चुचुरोमै पुर्याएर सगरमाथाको सफल मापन गर्यो ।

नेपाल र चीनले सगरमाथाको उचाइ संयुक्त रुपमा सार्वजनिक गरेपछि नेपाली सामाजीक संजालहरुमा एक प्रश्न आयोः सगरमाथा नेपालको तर किन चिनसँग मिलेर सार्वजनिक गरेको उचाइ ? तर, खासमा नेपाल र चिनको सिमाना हो सगरमाथा । दुइतर्फबाटै सगरमाथा आरोहण हुन्छ ।

अझ प्रथम सगरमाथा आरोहणको प्रयास भने चिनतर्फबाटै भएको हो । जुन सन १९२१ मा बेलायती आरोहि जर्म मेलोरीले गरेका थिए । प्रथम सफल आरोहण भने नेपालतर्फबाट सन १९५३ को मे २९ मा भएको थियो । नेपालमा जन्मिएका तेन्जीङ र न्यूजिल्यान्डका एडमन्ड हिलारीले उक्त ऐतिहाँसिक सफलता पाएका थिए ।

सगरमाथाः आरोहण पैले अनि मात्रै सिमा निर्धारण

सगरमाथा बारेमा रोचक कुरा चै जतिबेला सगरमाथाको सफल आरोहण भयो त्यतिबेला नेपाल र चिनको औपचारिक कुटनैतिक सम्बन्ध समेत स्थापना भएको थिएन ।

सगरमाथा आरोहणको दुइ बर्षपछि मात्रै सन १९५५ को अगस्ट १ मा नेपाल र चिनको औपचारिक रुपमा कुटनैतिक सम्बन्ध स्थापना भयो । दुवै देशबाट आरोहण भएको तथा दुवै देशमा आफ्नो–आफ्नो नाम र महत्व भएको सगरमाथा कताको हो भन्नेमा टुंगो भने कुटनैतिक सम्बन्धपछि पनि भएको थिएन । जसको बहस नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको चिन भ्रमणताका मात्रै नेतृत्व तहमा भएको थियो ।

सगरमाथामा नेपालको स्वामित्व राख्न बीपीको त्यो ऐतिहाँसिक अडान

बीपी कोइराला २०१६ जेठ १३ मा प्रधानमन्त्री बने । १८ महिना १८ दिन सम्म चलेको उनको कार्यकाल २०१७ पुष १ गते सम्म रह्यो । यहि कालमा उनले गरेका धेरै कुटनैतिक कामहरुमा एक महत्वपुर्ण काम हो सगरमाथा नेपालको हो भनेर चीनसँग दाबा गर्नु । यो दाबा उनले कुनै पत्रकार सम्मेलन गरेर वा लेख लेखेर अप्रत्यक्ष रुपमा गरेका थिएनन । उनले चिनका नेता माओसँगै भेटेर दाबा गरेका थिए ।

कुरा २०१६ चैत्र ५ (सन १९६० मार्च १८) को हो । त्यो दिन चिन भ्रमणमा रहेका तत्कालिन प्रधानमन्त्री बीपीले तत्कालिन चिनियाँ प्रधानमन्त्री चाओएन लाइपछि माओलाइ भेटेर सगरमाथा बारेमा आफ्नो प्रष्ट कुरा राखे । चिनमा चोमालोङ्मा र नेपालमा सगरमाथा भनेर चिनिने विश्वको सर्वोच्च शिखरलाइ दुवै देशले पुरा भाग आफ्नो भनेर दाबा गरेका थिए ।

कति सम्म भने चिनियाँ प्रधानमन्त्री चाओएन लाइले त सगरमाथा नेपालको हुँदै हैन भनेर विपीसँगको वार्तामा भनेका थिए । विपीले त्यो कुरामा आपत्ति जनाएर माओसँग कुरा गरेका थिए । किनभने माओ प्रधानमन्त्री र राष्ट्रपति नभएपनि चिनका सबैभन्दा शक्तिशाली नेता थिए । उनीसँग विपीले सगरमाथा बारेमा प्रष्ट कुरा राखे ।

२०१६ चैत २२ मा चिन भ्रमण सकेर नेपाल फर्केपछि बीपीले पत्रकार सम्मेलन गरेरै नेपाल र चिनको सगरमाथा सकसको कुरा सार्वजनिक गरेका थिए । जगत नेपालको पुस्तक ‘पहिलो संसद’मा उल्लेख भए अनुसार बीपीले प्रधानमन्त्री निवाशमै पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा बीपीले सगरमाथा चिनले आफ्नो सिमामा पर्छ भनेर दाबि गरेको बताउदै भनेका थिए, ‘तर हामीले सगरमाथा हाम्रो हो भनेका छौँ । संयुक्त सिमा समितिबाट यसको टुंगो लगाउनुपर्छ ।’

बीपीले पत्रकार सम्मेलनमा भनेकै कुरा माओको पुस्तक ‘अन डिप्लोमेसि’मा समेत उल्लेख छ । सन १९९८ मा छापिएको उक्त पुस्तकमा उल्लेख भए अनुसार माओसँग विपीले राखेका सगरमाथाको कुरा यस्तो थियोः

विपीः त्यहाँ अर्को प्रश्न छ । एक भावनात्मक प्रश्न । हामी यसलाइ सगरमाथा भन्छौँ । तपाइ झोमोलोङ्मा भन्नु हुन्छ । पश्चिमाहरु माउन्ट एभरेष्ट भन्छन । यो क्षेत्र सधै नेपालको भुभाग भित्र पर्छ । तर प्रधानमन्त्री चाउएनलाइले यो चिनभित्र पर्छ भन्नु भयो ।

माओः यसमा तपाँइले असहज मान्नु हुँदैन ।

विपीः यो भावनात्मक प्रश्न हो ।

माओः यसलाइ आधा आधा गरेर समाधान गर्न सकिन्छ । दक्षिणि भाग तपाँइको । उत्तरी भाग हाम्रो ।

विपीः अनि चुचुरो चै के गर्नु?

माओः त्यो पनि आधा आधा । यसो गरे कसो हुन्छ? यदि यो समाधान गर्न सकिदैन भने पछिको लागी सार्न सकिन्छ । हिमाल धेरै अग्लो छ र यसले हाम्रो सिमा सुरक्षा गर्न सक्छ । हामी दुवैले पनि कुनै घाटा बेहोर्नु पर्दैन । यदि सबै सगरमाथा तपाँइलाइ दिए भावनात्मक रुपमा हामीलाइ दुःख हुन्छ । यदि सबै हामीलाइ दिए भावनात्मक रुपमा तपाँइलाइ दुःख हुन्छ । हामीले सिमा रेखा चुचुरोमा राख्न सक्छौँ । हिमालको नाम नयाँ राखौँ । माउन्ट एभरेस्ट त पश्चिमाहरुले दिएको नाम हो । यसलाइ सगरमाथा पनि नभनौँ । चोमोलोङ्मा पनि नभनौँ । यसलाइ नेपाल चिन मैत्र हिमाल भनौँ ।

विपीः ठिकै छ ।

बीपी माओकै संवादको लाइनमा सगरमाथा सेटलमेन्ट
सन १९६० मार्च १८ (२०१६ चैत्र ५) मा बीपी र माओले गरेको सगरमाथा संवादकै लाइनमा सगरमाथाको सेटलमेन्ट भएको देखिन्छ । बीपीको भ्रमणमा सगरमाथाको बिषय थाति राखेर नेपाल चिन सिमा सहमति सन १९६० मार्च २१ मा भएको थियो ।
बीपी माओको सगरमाथा कुराकानी भएको करिब दुइ बर्षपछि २०१८ साल असोज १९ (सन १९६१ अक्टोबर ५) गते नेपाल–चिन सिमा सम्झौता भयो । सम्झौताको धारा १ को उपधारा ११ मा सगरमाथाको चुचुरोहुँदै दक्षिणि भाग नेपालको र उत्तरी भाग चिनको भन्ने उल्लेख भयो । सन १९६५ मे ३० मा अमेरिकि स्टेट डिपार्टमेन्टले गरेको नेपाल चिन सिमा अध्ययन प्रतिवेदनमा समेत उक्त कुरा उल्लेख गरिएको छ । र, आजसम्म सगरमाथाको साझा सेटलमेन्ट सोहि कोणमा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर