संक्रमित घटेपछि कोभिड अस्पतालका बेड खाली हुँदै – Nepal Press

संक्रमित घटेपछि कोभिड अस्पतालका बेड खाली हुँदै

काठमाडौं- केही दिन यता नेपालका निजी तथा सरकारी अस्पतालमा कोभिड–१९का बिरामीका लागि छुट्याइएका बेड धमाधम खाली हुँदै गएका छन् । दुई सातायता बिरामीको संख्या पनि क्रमशः घट्दै गइरहेको अस्पतालहरूले जनाएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई हप्ताअघिसम्म कोभिडका बिरामीको चाप उत्तिकै थियो । एक महिनाअघि त कोभिडका बिरामीले बेडसमेत पाउन मुस्किल हुने अवस्था थियो । तर, केहीदिन यता अस्पतालमा कोभिडका बिरामी घट्न थालेपछि बेडहरू खाली हुन थालेका छन् ।

अस्पतालका निर्देशक डा. सागर राज भण्डारीका अनुसार दुई हप्ताअघि ५५ जना संक्रमित उपचाररत थिए । अहिले २९ जना मात्र अस्पतालमा उपचाररत छन् । तर आइसियसुमा राख्नुपर्ने केसहरू भने पहिलेकै तुलनामा छन् । अस्पतालका निर्देशक डा. भण्डारीका अनुसार गम्भीर प्रकृतिका १८ जना बिरामी अस्पतालमा उपचाररत छन् । तीमध्ये अधिकांश वृद्धवृद्धा र दीर्घरोगीहरू छन् ।

वीर अस्पतालमा कोभिडका बिरामीका लागि १ सय ४० बेड छुट्याएको छ । पहिले बिरामीको चाप बढेर बेडले धान्न नसक्ने स्थिति थियो । तर, केही हप्तायता कोभिडका बिरामीहरू ३० देखि ३५ जनाको हाराहारीमा उपचाररत छन् । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार आइसियुमा राख्नुपर्ने केस भने घटेको छैन ।

सरकारी अस्पतालमा मात्र हैन निजी अस्पतालमा पनि कोभिडका बिरामी घटिरहेका छन् । ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारीका अनुसार अहिले अस्पतालमा कोरोनाका बिरामी ५० प्रतिशतले घटेका छन् ।

‘कोभिडका लागि हामीले ६० बेड छुट्याएका थियौं । पहिले त बेड नै नपाएर बिरामी राख्न नसकिने अवस्था थियो । दुई हप्तायता करिब २५ जना बिरामी छन्,’ अस्पतालका अध्यक्ष भण्डारी भन्छन् ।

ह्याम्सले पहिले कोभिडको लागि बिरामीको चाप बढ्दा दुई वटा वार्ड छुट्याएको थियो । अहिले संख्या घट्दै गएपछि एउटै वार्डमा कोभिडका बिरामीको उपचार गर्ने गरिएको छ । अस्पतालको आइसियुमा १९ जना कोभिडमा बिरामी छन् । अध्यक्ष भण्डारीका अनुसार पहिलेको तथ्यांकको तुलनामा अहिले आइसियु केस ३० प्रतिशतले घटेको हो ।

‘पहिले आइसियु बेड चाहियो भनेर निकै फोन आउँथ्यो । केही दिन यता आइसियु चाहिने बिरामीहरूको कल समेत ९० प्रतिशत घटेको छ,’ अस्पतालका अध्यक्ष भण्डारी भन्छन् ।

‘संक्रमित घटेसँगै खाली भए बेड’

नेपालमा कोरोना संक्रमितहरूको संख्या घटेसँगै अस्पतालमा बिरामीको संख्या घटेको विज्ञ तथा चिकित्सकहरूको दाबी छ । बितेको २४ घण्टामा ९ सय ३६ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ । जबकि कुनै समय ८ हजार भन्दा बढी नयाँ संक्रमित एकै दिनमा भेटिएका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पहिले परीक्षण गरिएको मध्ये २५ प्रतिशत भन्दा बढी नयाँ संक्रमित भेटिन्थे । तर, अहिले १५ प्रतिशत मात्र नयाँ संक्रमित भेटिने गरेका छन् । यो अनुपातलाई आधार मान्दा संक्रमण घटेको डा. गौतमको दाबी छ ।

ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि पहिले परीक्षण गरिएका मध्ये ४२ प्रतिशतलाई कोरोना पोजेटिभ देखिन्थ्यो । अहिले करिब ३० प्रतिशत भन्दा कमलाई पोजेटिभ देखिने निर्देशक डा सागर राज भण्डारी बताउँछन् ।

वीर अस्पतालमा कोभिडको आशंकामा परीक्षण गर्न आउनेको दैनिक संख्या नै ५ सयको हाराहारीमा हुन्थ्यो । अहिले परीक्षण गर्नेको दैनिक ८० देखि ९० सम्म मात्र हुने निर्देशक डा. केदार सेन्चुरी बताउँछन् ।

दसैं तिहारपछि संक्रमण झन् बढ्न भन्ने विज्ञहरूको आँकलन थियो । तर, संक्रमतिहरू घट्दै जाँदा आँकलनहरू गलत भएको जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित बताउँछन् ।

उनी भन्छन्, ‘जाडोमा झनै बढ्छ भन्ने आँकलन थियो तर बढेन । मृत्युदर पनि कम भयो । वर्षौं पुरानाको रोग त हामी बल्ल बुझ्दैछौं । यो भर्खर एक वर्ष भयो । त्यसैले धेरै आँकलन गलत भएका छन् ।’

परीक्षण घटे र संक्रमित घरमै बस्न थाले

कोरोनाका बिरामी अस्पतालनै जान छाडेपछि बेडहरू खाली हुँदै गएको कतिपय विज्ञको बुझाइ छ । यससँगै परीक्षण गराउन जानेहरूको संख्यामा पनि कमी आएको विज्ञहरू बताउँछन् ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे अहिले मानिसहरू परीक्षण गर्न जानै छाडेको बताउँछन् । ‘मानिसहरूले परीक्षण गर्न जान छाडे । अस्पतालहरूले कोभिडका बिरामीलाई धरौटी नलिई भर्ना नगर्ने भएपछि सामान्य नागरिकहरूले कि त परीक्षण नगर्ने कि त घरमै बसेर आराम गर्न थाले,’ डा. पाण्डे भन्छन् ।

सरकारले गर्ने कोरोना परीक्षणको दर निकै कम भएर पनि संक्रमित कम भएका उनको दाबी छ । ‘अहिले सीमित मान्छेले मात्र परीक्षण गरिरहेका छन् । विदेशबाट आएका वा जानुपर्ने अवस्थाका मानिसले मात्र परीक्षण गर्ने गरेका छन्,’ डा. पाण्डे भन्छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतम आवश्यकताअनुसार परीक्षण घटाएको स्वीकार गर्छन् । ‘अहिले अनावश्यक परीक्षण घटाएको हो । बिरामीको संख्या घटेपछि परीक्षण पनि घटाइएको हो,’ डा गौतम भन्छन् । उनका अनुसार अहिले दैनिक ५ हजारको हाराहारीमा परीक्षण गर्ने गरिएको छ ।

गम्भीर बिरामी घरमै बस्दा संकट

गम्भीर प्रकृतिकाख बिरामी पनि अक्सिजन लिएर घरमै बस्दा झन् संकट थपिएको ह्याम्सका अध्यक्ष रामशरण भन्डारी बताउँछन् । ‘घरमै अक्सिजन लिएर बस्ने ट्रेनका कारण अहिले अन्तिम अवस्थामा मात्र बिरामी आउने गरेका छन् । अहिले अक्सिजन लेभल घट्दै गर्दा पनि घरमै बस्ने गरेका रहेछन्,’ उनी भन्छन्, ‘अक्सिजन लिएर घरमै बसेकाहरू अन्तिम चरणमा अस्पतालमा मृत्युवरण गर्नुपरेको छ।’

अहिले यस्तो किसिमको केस दैनिक बढ्दै गएको उनी सुनाउँछन् । उनका अनुसार अक्सिजन घटिसकेपछि घरमै बस्नु एकदमै खतरा हो । ९२ भन्दा तल अक्सिजन आयो भने तुरुन्तै अस्पताल नगइ घरमै लिएर बस्यो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने भण्डारीको दाबी छ ।

परीक्षण नबढाए खतरा बढ्न सक्छ

जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित अस्पताल आउने मान्छे कम भयो भनेर ढुक्क भएर बस्नु गलत भएको बताउँछन् । यो बेलामा संक्रमण घटे भनेर परीक्षण पनि घटाउनाले झनै खतरा निम्तने उनको दाबी छ ।

‘अस्पताल र ल्याबमा मान्छे नआए पनि समुदायमा जानुपर्ने हो । राज्य समुदायमा खोज्दै जानुपर्छ । हामीसँग विकल्प भनेकै परीक्षण छ । ५ हजार परीक्षण गरेर यथार्थ पाउँदैनौ । हामी संक्रमणमुक्त भएका भने छैनौं,’ डा. दीक्षित भन्छन्, ‘एउटै मात्र व्यक्ति संक्रमित हुनु भनेको उसले ३ देखि १२ जनालाई समाजमा सार्न सक्छ ।’

पछिल्लो समय विवाह भोज र पार्टीहरूको आन्दोलनले संक्रमण बढाउन सक्नेउनको चिन्ता छ । जनस्वास्थ्यविद् डा. पाण्डे पनि संक्रमण घट्यो भनेर खुसी हुनुपर्ने अवस्था नभएको बताउँछन् । ‘अहिले घटिरहेको छ भनेर हामीले ध्यान दिन छाडिरहेका छौं । झन् सजग हुने बेला आएको छ । यो बेला हामीले ख्याल राखेनौं भने दोस्रो लहर आउन सक्छ,’ उनी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *