सगरमाथामा छायांकन तयारीमा सेलेना गोमेजको फिल्म – Nepal Press

सगरमाथामा छायांकन तयारीमा सेलेना गोमेजको फिल्म

लेस्बियन आरोहीको बायोपिक बन्ने

सगरमाथा आरोही सिल्भिया भास्केज लाभाडोको जीवनमाथि बन्ने बायोपिक फिल्मलाई सेलेना गोमेजले निर्माण गर्ने भएकी छन् । हलिउड रिपोर्टर म्यागजिनका अनुसार गोमेज उक्त फिल्ममा लेस्बियन पात्रको भूमिकामा आफूलाई प्रस्तुत गर्दैछिन् ।

पेरुभियन सगरमाथा आरोही लाभाडोको आत्मकथा ‘इन द स्याडो अफ दी माउन्टेन’कै नाममा फिल्म नामाकरण हुनेछ । लाभाडोले सगरमाथासहित सातै महादेशका अग्ला हिमाल चढिसकेकी छिन् । फिल्मलाई सेलेनाको मुन पिक्चर्सले निर्माण गर्ने जनाइएको छ ।

लाभाडो सगरमाथा चढ्ने पहिलो पेरुभियन महिला हुन् । उनले आफूलाई खुलारुपमै गे महिलाको रुपमा चिनाउने गरेकी छिन् । मायान्स एमसी फेम्ड निर्देशक एवं लेखक एल्गिन जेम्सले फिल्मलाई निर्देशन गर्ने भएका छन् । फिल्म निर्माणमा सेलेनाले अस्कर विजेता डोना गिग्लिवटीसँग टीमअप गर्ने भएकी छिन् ।

लाभाडोले यौन दुव्र्यहार पीडितको उद्दारमा खट्ने सामाजिक संस्थाको स्थापना पनि गरेकी छिन् । स्रोतका अनुसार उक्त फिल्मको छायांकन नेपालमा गर्ने सम्भावना छ । सेलेना यसअघि युनिसेफको कार्यक्रमको सिलसिलामा नेपाल आएकी थिइन् । त्यसबेला नेपाली संस्कृतिको प्रशंसा गर्दै नेपाल पुनः घुम्ने बताएकी थिइन् ।

‘सिल्भिया एउटा बहादुरीको प्रतीक हुन्’ गिग्लिटीले भनिन्, ‘साहस, एड्भेन्चर र मानवताको कथा भन्नको लागि स्कट र सेलेनासँग सहकार्य गर्न पाउँदा म हर्षित छु ।’ सेलेनाले यससँगै निर्माता सन् लेभीसँग हरर फिल्म ‘डल हाउस’ निर्माणमा सहकार्यको घोषणा गरेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर