अमेरिकामा आजदेखि खोप, जर्मनीमा कडा लकडाउन – Nepal Press

अमेरिकामा आजदेखि खोप, जर्मनीमा कडा लकडाउन

कोभिड–१९ विरुद्ध भ्याक्सिन

अमेरिकाले सोमबारदेखि सबै राज्यमा कोभिड–१९ विरुद्धको फाइजर खोप आफ्ना नागरिकलाई लगाउन सुरु गरेको छ । सीएनएनका अनुसार ५० वटै राज्यमा खोप पुर्‍याइएको छ ।

एकलाख ८४ हजार दुईसय ७५ कन्टेनरमा भ्याक्सिन लोड गरेर मिसिगन राज्यबाट वितरण थालिएको हो । अमेरिकी खाद्य तथा औषधी विभागले आपतकालिन प्रयोगका लागि फाइजरको खोपलाई अनुमति दिएपछि लगाउने प्रक्रिया सुरु भएको हो ।

भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या झन्डै ३ लाख नजिक पुगेको छ । ‘प्रत्येक राज्यका एकसय ४५ थलोमा सोमबार खोप लगाइनेछ । मंगलबार ४ सय २५ र बुधबार ६६ थलोमा लगाइनेछ । अर्डर गरिएअनुसार भ्याक्सिनको मात्रा अहिलेलाई पुरा हुनेछ’ अमेरिकी संघिय सरकारका भ्याक्सिन विभाग प्रमुख जनरल गुस्तभा पेर्नाले भने ।

अमेरिकी केन्द्रिय रोग नियन्त्रण विभागले १६ भन्दा माथिल्लो उमेरका नागरिकलाई मात्र खोप लगाउन अनुमति दिएको छ । अमेरिकी खोप निर्माण कम्पनी फाइजरले आफ्नो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको र त्यसलाई माइनस ७५ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्नुपर्ने जनाएको थियो ।

चिसो बिदाको दिन र क्रिसमस नजिक आउँदै गरेको पृष्ठभूमिमा लगातार सातौं दिन अमेरिकी अस्पतालमा कोभिडका गम्भिर बिरामीको संख्या बढिरहेको छ । स्वास्थ्य विज्ञहरुले सर्वसाधारणमा खोपको पहुँच हुनु अघि नै भयावह स्थिती आउने चेतावनी दिएका छन् । रोग नियन्त्रण विभाग प्रमुख डा. स्टेफन हानले खोपप्रति आफूहरुको विश्वास रहेको बताए ।

अधिकांश अमेरिकीले खोप लगाउनको लागि अझै एक महिनाभन्दा बढी समय कुर्नुपर्ने हुन्छ । त्यतिञ्जेलसम्म ठूलो जनसंख्यामा भाइरस संक्रमण हुने सरकारी भनाइ छ । शनिबार मात्र एरिजोना राज्यमा सर्वाधिक ८ हजार ७६ जनालाई संक्रमण भेटियो । राज्यको जनस्वास्थ्य विभागका अनुसार अनुमान गरिएभन्दा तीव्र गतिमा भाइरसको संक्रमण भैरहेको छ ।

जर्मनीमा कडा लकडाउन लागु
जर्मनीमा बुधबारदेखि कडा लकडाउन लागु हुँदैछ । चान्सलर एन्जेला मर्केलले अत्यावश्यक बाहेकका सबै सेवालाई बन्द गर्न लागिएको घोषणा गरिन् । आगामी जनवरी १० सम्म कडा लकडाउन र परिस्थितीको आधारमा त्यसपछि जनजीवन खुकुलो बनाउने योजना छ ।

यसको अर्थ जर्मनहरुले क्रिसमस र अंग्रेजी नयाँवर्ष घरमै बसेर मनाउनुपर्नेछ । चान्सलर मर्केलले जर्मनीका १६ वटै राज्यका प्रमुखलाई बोलाएर लकडाउनलाई कडाइपूर्वक लागु गराउन निर्देशन दिइन् । कोभिड संक्रमण बढिरहेको र स्वास्थ्य प्रणालीले नधान्ने हुँदा सरकारी आदेश पालना गर्न उनको आग्रह छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *