काठमाडौंमा आज यस वर्षकै बढी चिसो – Nepal Press

काठमाडौंमा आज यस वर्षकै बढी चिसो

काठमाडौं । उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम ४.० डिग्री सेल्सियस मापन गरिएको छ ।

यसअघि आइतबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो । मौसमविद् निराजन सापकोटाका अनुसार अब देशभर तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । ‘डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ, बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ,’ मौसमविद् सापकोटाले भने। यस वर्ष काठमाडौंको तापक्रम सूनय डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ ।

मौसमविद्का अनुसार अब केही दिन मौसम सफा हुने भएको छ । दिनभर घाम लागे पनि बिहानबेलुका बढी चिसो महसुस हुने बताइएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

अपराह्न प्रदेश नं १ लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री र अधिकतम तापक्रम २१.६ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *