‘तथ्य अन्वेषण, सत्य सम्प्रेषण’को यात्रा आरम्भ – Nepal Press
सम्पादकीय

‘तथ्य अन्वेषण, सत्य सम्प्रेषण’को यात्रा आरम्भ

सूचना महामार्गमा नेपाल प्रेसको यात्रा शुरू भएको छ । हजारौं मिडियाको भीडमा एउटा नेपाल प्रेस थपिनु र नथपिनुले त्यति ठूलो अर्थ राख्दैन । तर हामीले हाम्रो आगमनको औचित्य पुष्टि गर्नकै लागि मूल नारा तय गरेका छौं– तथ्य अन्वेषण, सत्य सम्प्रेषण ।

नेपाल प्रेस किन ? हामी यसको जवाफ हाम्रा सामग्रीहरूबाट व्यवहारमै दिने प्रयास गर्नेछौं । प्रविधिको यो युगमा कोही व्यक्ति सूचनाबाट बञ्चित हुँदैन तर सत्य र तथ्य सूचना मुख्य चुनौती हो । समाज आज ‘फेक न्यूज’ र ‘प्लान्टेड’ सूचनाको संक्रमणबाट पीडित छ ।

छिटो हुने नाममा गलत सूचना दिने, ‘भाइरल’ हुनका लागि गैरजिम्मेवार बन्ने छुट कम्तीमा पनि हामीलाई छैन र हामी त्यो आम रोगबाट टाढै रहने प्रतिबद्धता आजकै दिन व्यक्त गर्दछौं । जिम्मेवार र मर्यादित पत्रकारिताको अभ्यास नै हाम्रो सिद्धान्त हुनेछ ।

हामीसँग नेपाली पत्रकारिताको विभिन्न विधामा स्थापित भएका युवा पत्रकारको टिम छ । हरेक क्षेत्रका समाचार, विचार र विश्लेषण थाहा पाउने एउटै ‘डिजिटल प्लेटफर्म’ बनाउने हाम्रो प्रयास हुनेछ । अर्थात् सूचना र विश्लेषण पढ्ने, हेर्ने र सुन्ने ‘मल्टिमिडिया’ हो नेपाल प्रेस ।

सबै तथ्य समाचार हुँदैनन् । तर लुकेका वा लुकाइएका तथ्यलाई अन्वेषण गरी सत्य सम्प्रेषण गर्नु हाम्रो मुख्य ध्येय हुनेछ । हामीलाई मन पर्ने सामग्री पाठक, श्रोता र दर्शकलाई थोपर्ने भन्दा पनि तपाईंहरूको चाहनाका सामग्री खोज्न र तपाईंहरूसमक्ष सम्प्रेषण गर्न दत्तचित्त भएर खटिनेछौं ।

हामी सामाजिक न्याय, सुशासन, राष्ट्रिय स्वाभिमान र नेपालको संविधानको पक्षधरता लिन्छौं ।

आवाजविहीनको आवाज बोल्ने आधिकारिक मुखपत्र बन्न सकियो भने त्यस दिन नेपाल प्रेसको सार्थकता स्थापित हुनेछ । अन्याय, विभेद, भ्रष्टाचार र अराजकतासँग सम्झौता नगरी जनपक्षीय पत्रकारिता गर्नु कठिन बाटो हो । त्यही बाटो हामीले तय गरेका छौं ।

जे बिक्छ त्यही खोज्ने नाममा आज नेपालको मात्र होइन संसारकै मिडिया अफवाह सिर्जना गर्ने साधन बन्ने खतरा बढिरहेको छ । नकारात्मक विषयवस्तु मात्र समाचार होइनन् । बेथिति विरुद्ध नेपाल प्रेस खबरदारी गर्न सधैं अग्रपंक्तिमा हुनेछ तर नकारात्मक संक्रमणबाट समाजलाई बिरामी बनाउनुहुँदैन भन्नेमा हामी दृढ रहनेछौं । मिडियाले सबैतिर निराशा मात्र देखाउने भन्दा पनि समाजलाई आशावादी बनाउने दायित्व पनि बोक्नुपर्छ भन्ने हाम्रो मान्यता हुनेछ ।

पत्रकारिता कुन हदसम्म निष्पक्ष वा तटस्थ रहन सक्छ ? यो संसारभर सधैं बहसमै रहेको विषय हो । नेपाल प्रेस निरपेक्ष रूपमा निष्पक्ष हुन सक्दैन । हामी सामाजिक न्याय, सुशासन, राष्ट्रिय स्वाभिमान र नेपालको संविधानको पक्षधरता लिन्छौं ।

विभाजित समाजमा मान्छेका मन पनि विभाजित हुन्छन् । मिडियाले त्यसभित्र पसेर पक्षधरता लिनुहुँदैन तर विसंगतिको पक्षमा उभिन सकिन्न । विसंगति र गलत कर्मको पक्षधरता नलिंदा उठ्ने तटस्थताको प्रश्नमा हाम्रो जवाफ हुनेछ– गलतको विपक्षमा उभिनु नै निष्पक्ष पत्रकारिता हो ।

हो हामी निष्पक्ष छैनौं । देशको स्वाभिमान, राष्ट्रियता, जनताको समस्या र राष्ट्रको प्रतिष्ठाका सन्दर्भ आउँदा हामी निष्पक्ष हुन सक्दैनौं ।

देशभक्तिको सन्दर्भमा हामी देशको पक्षमा उभिन्छौं । अन्यायको सन्दर्भमा हामी पीडितको पक्षमा उभिन्छौं । यस्ता विषयमा नेपाल प्रेस ‘ग्रे एरिया’ मा रहने छैन ।

हामी मिसन बनाएर कुनै राजनीतिक समूह, व्यक्ति वा प्रतिष्ठानहरूप्रति नकारात्मक जनमत बनाउने पत्रकारिता गर्ने छैनौं । सबैका विचारलाई बराबरी प्राथमिकता दिन्छौं । नेपाल प्रेसले नागरिक पत्रकारिताको मान्यता पछ्याउनेछ र हरेक नागरिकले हामीसँग अन्तरक्रिया गर्न सक्नेछन् ।
परम्परागत परिभाषा अनुसार पत्रकारिता प्रतिपक्ष हो । राज्य संचालन गर्ने सरकारलाई खबरदारी गर्नु, गल्ती कमजोरी सच्याउन सहयोग गर्नु हाम्रो दायित्व हुनेछ । यसो गरिरहँदा तीनै तहका सरकारले गरेका राम्रा काम तपाईंहरू समक्ष ल्याइदिनु पनि हाम्रो कर्तव्य हो । सधैं निराशाको भारी बोकाउनु हाम्रो लक्ष्य हुने छैन ।

छिटो हुने नाममा गलत सूचना दिने, ‘भाइरल’ हुनका लागि गैरजिम्मेवार बन्ने छुट कम्तीमा पनि हामीलाई छैन र हामी त्यो आम रोगबाट टाढै रहने प्रतिबद्धता आजकै दिन व्यक्त गर्दछौं ।

राजनीतिक मुद्दामा हामी कुन हदसम्म तटस्थ हुने ? यसमा हामी प्रष्ट छौं । हिंसाको राजनीतिलाई नेपाली समाजले तिरस्कार गरिसकेको छ । कुनै पनि राजनीतिक आवरणमा हिंसा, हत्या र आतंकपूर्ण गतिविधि गर्ने शक्तिप्रति तटस्थ हुन सकिन्न । संविधानभित्र रहेर गतिविधि गर्ने हरेक राजनीतिक दल र समूहप्रति हामी समान व्यवहार गर्नेछौं ।

आजको युगमा मिडिया र यसका उपभोक्ताबीच जीवन्त संवाद अनिवार्य छ । पत्रपत्रिका, रेडियो र टेलिभिजनको युगमा जस्तो एकोहोरो सञ्चारको अभ्यास अब पुरानो भइसकेको छ । रचनात्मक सुझाव, आलोचना र गल्ती कमजोरी औंल्याइदिने पाठक नै हाम्रा वास्तविक शुभचिन्तक हुन् । मिडियाले सत्तालाई खबरदारी गर्छ, मिडिया पनि जनताको निगरानीमा हुनुपर्छ ।

हामी धेरै महत्वाकांक्षी नभई पत्रकारिताको मोर्चामा अर्को एउटा प्रयास र प्रयोग गर्न खोज्नेछौं । स्वस्थ प्रतिस्पर्धा र देशको ठूलो हिस्सा ओगट्ने युवामैत्री सामग्रीको सम्प्रेषणमा हामी खरो उत्रिन प्रयासरत हुनेछौं । आम पाठक नै हाम्रा संवाददाता पनि हुन्, त्यसैले तपाईंले देखेका, भोगेका र सार्वजनिक गर्नैपर्ने श्रव्य, दृश्य र कोरा सूचना तत्काल हामीलाई उपलब्ध गराउनुहोस्, हामी तथ्य अन्वेषण गरेर सत्य सम्प्रेषण गर्नेछौं ।

मिडिया सधैं नागरिक निगरानीमा रहनुपर्छ । पारदर्शिता र सुशासनको वकालत गर्ने मिडिया आफैं कति पारदर्शी छन् ? आजको समाजले प्रश्न गरिरहेको हुन्छ । त्यसका लागि मिडियामा कसको र कस्तो लगानी भन्ने महत्वपूर्ण पक्ष हो । हामी त्यसका लागि सामाजिक लेखापरीक्षणको कठघरामा सधैं उभिन सक्ने नैतिक बल सहित आएका छौं ।

अरूमाथि प्रश्न उठाउनेले सबैभन्दा पहिले आफू हरेक प्रश्नप्रति जवाफदेही हुनुपर्छ भन्ने मान्यतामा हामी दृढ छौं । यति भनिसकेपछि अपारदर्शी लगानीविनाको मिडिया टिक्न र सामाजिक उत्तरदायित्व पूरा गर्न फेरि पनि बजार आश्रित हुनुपर्छ । विश्वव्यापी महामारीका कारण अर्थतन्त्र संकटग्रस्त भएको कठिन परिस्थितिमा हामीले चुनौतीपूर्ण यात्रा तय गरेका छौं ।

राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन र मुलुकमा लगानीमैत्री वातावरण सिर्जना गर्दै रोजगारी बढाउन एउटा मूलधारको मिडियाले निर्वाह गर्ने भूमिकामा हामी कहिल्यै चुक्ने छैनौं । पाठक, श्रोता र दर्शक जत्तिकै हाम्रो दायित्व विज्ञापनदाता र शुभेच्छुकहरूप्रति रहिरहन्छ ।

र, अन्त्यमा

गल्ती सच्याउने तत्परता नै पत्रकारिताको मूल्यमान्यता हो । हामीबाट गल्ती हुनसक्छन् तर नियतवश गल्ती गर्दैनौं र गल्ती सच्याउन सदा तत्पर रहन्छौं । हामीलाई थाहा छ, पत्रकारिता कहिल्यै सिकेर नसकिने विषय हो ।

एउटा पत्रकार सधैं आफ्ना पाठकको निगरानीमा हुन्छ र उसले हरेक दिन परीक्षा दिइरहेको हुन्छ । कहिल्यै पास नहुने र निरन्तर सिकिरहने यो मोर्चाबाट हामी सधैं जिम्मेवार पत्रकारिताको अभ्यासमा रहने प्रण गर्छौं ।


प्रतिक्रिया

16 thoughts on “‘तथ्य अन्वेषण, सत्य सम्प्रेषण’को यात्रा आरम्भ

  1. हार्दिक बधाई तथा माथि उल्लेखित प्रणहरुमा पूर्ण सफलताको शुभकामना !

    1. हार्दिक हार्दिक बधाई र सफलताको शुभकामना छ मातृका जी ।

    2. सम्पादकीय एकदम चित्त बुझ्यो । सधैं जनताको पत्रकारिता गर्नुहोस लालचको होइन । नेताको मात्र पत्रकारिता नगरी आम सामान्य वर्गको विषय पनि यसमा अटाओस । ओझेलमा पारिएका आम कृषि तथा अर्थतन्त्रका अर्ग्यानिक कन्टेन्ट डेक्स्मा बसेर होइन फिल्ड्मा गएर लेख्नुहोस । कपिपेस्ट जर्नालिजमलाई बहिष्कार गर्दै अगाडि बढ्नुहोस नेपाल प्रेस टिमलाई हार्दिक बधाई एवम् सफलताको शुभकामना !!!!

  2. krishna Prasad baral ([email protected])

    बधाई तथा हार्दिक शुभकामना ! भैरहेका खबर पत्रीकाहरु भन्दा यो एउटा अत्यन्त बिश्वासनिय र पृथक पहिचान सहितको रुपमा स्थापित हुँदैजायोस । फेरिपनी हार्दिक शुभकामना ! शुभकामना ! शुभकामना !

  3. बधाई तथा हार्दिक शुभकामना ! भैरहेका खबर पत्रीकाहरु भन्दा यो एउटा अत्यन्त बिश्वासनिय र पृथक पहिचान सहितको रुपमा स्थापित हुँदैजायोस । फेरिपनी हार्दिक शुभकामना ! शुभकामना ! शुभकामना !

    1. Wa really nice
      हार्दिक बधाई र सफलताको शुभकामना

  4. यसमा सहभागी हरेक पत्रकारले कलम समाउनु अघि यो सम्पादकीय सम्झिऊन् । नेपाल प्रेश सधैं नेपाल र नेपालीको प्रेश बन्न सकोस् । हार्दिक शुभेच्छा ।

  5. शसक्त टिम लिएर शुरु भएको नेपाल प्रेसलाई हार्दिक बधाई तथा सफलताको शुभकामना । लक्ष्य प्राप्तिमा यो टीमले सार्थक उपलव्धि हासिल गर्न सकोस ।

  6. नेपाली जनताको पक्षमा उभिन नेपाल प्रेसको तथ्य अन्बेशण र सत्य सम्प्रेषणको अभियान सफल होस । शुभकामना ।

  7. मिडिया क्रान्तिको सुरुवात गर्नुभएकोमा हार्दिक बधाई / शुभकामना छ दाई

  8. आजको चुनौतिपूर्ण समयमा सफलताले शिखर चुमोस ।शुभकामना ।

Leave a Reply to Naya Nepal Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर