‘डिस्टिङ्सन आउने गरी काम गरेका छौं’ – Nepal Press
हाम्रा प्रतिनिधि

‘डिस्टिङ्सन आउने गरी काम गरेका छौं’

निर्वाचनताका मतदातासमक्ष गरिएका प्रतिबद्धता, चुनावी घोषणा र त्यसको कार्यान्वयन अवस्थाबारे तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेसँग नेपाल प्रेस दाङ प्रतिनिधि गणेश आचार्यले गरेको कुराकानी-

तुलसीपुर उपमहानगरपालिकाको प्रमुख भएको तीन वर्षमा कति प्रतिशत चुनावी घोषणापत्र कार्यान्वयन गर्नुभयो ?

स्थानीय निर्वाचनका सन्दर्भमा हामीले जारी गरेको घोषणापत्रलाई आधार बनाएर काम गरिरहेका छौं । कामको हिसाबले भन्नुहुन्छ भने मलाई लाग्छ, दुईतिहाइ प्रतिबद्धता हामीले पूरा गरिसकेका छौं । कतिपय काम सम्पन्न हुनका निम्ति केही काम लाग्ने भएकाले सम्पन्न हुने प्रक्रियामा रहेका छन् । खासगरी कोरोनाका कारणले केही समस्या पर्‍यो र कार्य सम्पादन गर्न हामीलाई कठिनाइ भएको छ । हामीले मात्रै होइन स्थानीय तहको निर्वाचनमा अन्य पार्टीले पनि आफ्नो घोषणापत्रमा उल्लेख गरेका राम्रा कामलाई समेटेर काम गरिरहेका छौं ।

यहाँले दुईतिहाइ काम गरिसकेको दाबी गर्नुभयो । जनताले अनुभूति गर्ने गरी के–के काम गर्नुभयो ? बुँदागत रूपमा भन्दिनुस् न !

दाङको टरिगाउँ विमानस्थल बन्द थियो । त्यसलाई संचालन गर्ने भन्ने हाम्रो चुनावमा प्रतिबद्धता थियो । हामीले चुनाव जित्ने बित्तिकै बन्द भएको विमानस्थल संचालन गर्न सफल भयौं । पहिले निजी कम्पनीका जहाज चले भने अहिले राष्ट्रिय ध्वजावाहक विमान संचालनमा छ । अब विमानस्थलमै इन्धन डिपो राख्ने प्रक्रिया चलिरहेको छ ।

हामीले १९ वटै वडामा ल्याबसहितको स्वास्थ्य संस्था र एम्बुलेन्स विस्तार गरेका छौं । तुलसीपुरमा उपमहानगरपालिकाको आफ्नै मेट्रो हस्पिटल संचालनमा ल्याएका छौं । राप्ती उपक्षेत्रीय अस्पताललाई ६०० बेडको बनाउँदैछौं । त्यहाँ आईसीयू संचालनका लागि टेन्डर आह्वान भएको छ । चाँडै सेवा शुरू हुनेछ । हामीले ब्लड बैंक संचालन गर्छौं भनेका थियौं, संचालनमा आइसकेको छ ।

हामीले गएको दुई वर्षमा मातृ मृत्युदर शून्यमा झार्न सफल भएका छौं । यो स्वास्थ्य क्षेत्रको ऐतिहासिक उपलब्धि हो । राप्ती आँखा अस्पतालमा निम्न वर्गका नागरिकको मोतिया विन्दुको अपरेसन खर्च उपमहानगरपालिकाले खर्च व्यहोर्ने गरेको छ । हामी चुनाव जितेर आउँदा यस उपमहानगरपालिकाभित्र ३० किलोमिटर जति मात्रै सडक कालोपत्रे थियो ।

हामी आएपछि १०० किलोमिटर बाटो कालोपत्रे गरेका छौं । उपमहानगरभित्र सडक सञ्जाल विस्तार गर्न विकास प्राधिकरण नै गठन गरेर द्रुत गतिमा काम गरिरहेका छौं । प्राविधिक शिक्षाको विकास गर्न आफैंले मेट्रो कलेज संचालन गरेका छौं । उपमहानगरभित्र प्रि–प्राइमरी क्लासमा होमवर्क दिन नपाइने कानून बनाएका छौं ।

उपमहानगरपालिकाले प्रि–प्राइमरी क्लासमा होमवर्क दिन नपाइने कानून त बनायो तर, कार्यान्वयनमा आएन नि !

हामीले कानून बनायौं । अहिलेसम्म कसैबाट पनि गुनासो आएन । यदि प्रि–प्राइमरी क्लासमा होमवर्क दिएको गुनासो आएमा त्यस्ता विद्यालयलाई कारबाही हुन्छ ।

पशु एम्बुलेन्स सञ्चालन गर्ने तपाईंको प्रतिबद्धता पूरा भएको देखिएन नि !

सरकारले खर्च नियन्त्रण गर्ने गरी यान्त्रिक साधन खरीद नगर्ने भनेकाले हामीलाई समस्या परेको छ । यो वर्ष अनुमति दियो भने हामी यही वर्ष नै पशु एम्बुलेन्स खरीद गर्छौं । यदि अनुमति पाएनौं भने आगामी आर्थिक वर्षमा अवश्य खरीद गर्छौं ।

यहाँले चुनावमा जनतालाई बाँडेको एउटा मीठो सपना थियो, तुलसीपुर बजारलाई स्मार्ट सिटी बनाउने । चुनाव जितेपछि त्यसका लागि जापानको एउटा संस्थासँग पनि सम्झौता गर्नुभयो । तर, अहिलेसम्म स्मार्ट सिटीको काम शुरू किन हुन सकेन ?

तुलसीपुरलाई स्मार्ट सिटी बनाउने नारा हामीले अघि सारेकै हो । त्यसका लागि जापानको संस्थासँग सम्झौता पनि ग¥यौं । तर, संघीय सरकारले स्मार्ट सिटी आफैं बनाउने भनेर तुलसीपुर बजारलाई पनि आफ्नो सूचीमा पा¥यो । अनि हामीले जापानिज संस्थासँग काम गरेनौं । तर, स्मार्ट सिटीको काम गर्न शुरूमा ५० करोड बजेट माग गर्दा संघीय सरकारले ५० लाख मात्रै दियो । जसका कारण स्मार्ट सिटीको काम अघि बढ्न नसकेको हो ।

अब तपाईंको कार्यकाल सकिन दुई वर्ष मात्रै बाँकी छ । जनतामा कत्तिको सन्तुष्टि पाउनुभएको छ ?

मलाई लाग्छ जनता यहाँको स्थानीय सरकारसँग सन्तुष्ट हुनुहुन्छ । हामीलाई यो कुरा पुगेन भनेर जनस्तरबाट कुनै गुनासो आएको छैन । सन्तुष्टि मापन गर्ने हो भने मलाई लाग्छ, हामी डिस्टिङ्सनमै छौं ।


प्रतिक्रिया

One thought on “‘डिस्टिङ्सन आउने गरी काम गरेका छौं’

  1. मेयरसाब हजुर आफै गयर हेर्नुभाको छ गाउँ गाउँ का बाटाहरु बजार भित्रि र आसपास का आफै हेर्नू अनि थाहाहुन्छ ओडा का प्रतिनिधि ले पार्टी र बेक्ती छुट्टाउने चलन छ अनिकहाँ हुन्छ बिकाश आफै सोच्नुश यकपटक।।।।।।

Leave a Reply to kirti bahadur kc Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर