अमेरिकाबाट फर्केर गाईको सेवा – Nepal Press
पशुसेवा

अमेरिकाबाट फर्केर गाईको सेवा

एउटा मन्त्रालयले दिएको सहयोग अर्कोले खोस्यो

कठ्याङ्ग्रिंदो मंसीरे जाडोको पर्वाह नगरी बिहान ७ नबज्दै काठमाडौं, गोठाटारस्थित असहाय गाईबाच्छाको सेल्टरमा पुगिसक्छन्- उत्तम पुडासैनी ।

सडकबाट घाइते गाईबाच्छाको उद्धार गरेर गोठमा ल्याएको रात के भयो होला भन्ने चिन्ताले बिहान ओछ्यानमा अबेरसँग बस्न दिंदैन । अनि दौडिन्छन् सेल्टरतिर ।

पशुपति विकास कोषको जग्गामा कागेश्वरी मनोहरा वडा नं ८ खुर्सानीबारी र एअरपोर्टको गौचरनमा रहेका छुट्टाछुट्टै दुईवटा सेल्टरमा असहाय तथा घाइते गाईबाच्छाहरूलाई उद्धार गरेर राखिएको छ ।
अहिले दुई वटा सेल्टरमा १२७ वटा गाईबाच्छा छन् । जसमध्ये उद्धार गरिएका ५३ वटा असहाय गाईबाच्छा छन् ।

खुर्सानीबारीको सेल्टरमा उपचारपश्चात् स्वस्थ भइसकेका ७४ वटा ठूला र निरोगी गाईगोरुहरू छन् भने नयाँ उद्धार गरी ल्याएकाहरूको उपचार र परीक्षण गरी छुट्टै राख्न गोठाटारकै गौचरनमा भएको सेल्टरलाई ‘क्वारेन्टाइन’ बनाइएको छ ।

उद्धार गरेर ल्याइसकेपछि ठूला र साना गाईबाच्छा बीचको बेमेलले यिनीहरूलाई बारेर राख्ने कम्पाउन्ड पनि नभएको र जोगाउन मुश्किल परेर छुट्टै सेल्टर बनाइएको हो ।

अहिले ‘क्वारेन्टाइन’ बनाइएको सेल्टरको जग्गा हवाई विभागको हो ।

पुडासैनी भन्छन्, ‘हाम्रो पुर्खाले गौचरन भनेर छाडेको हो । यी जग्गा गाईहरू चर्नको लागि छाडिएका हुन् । र अहिले ती जग्गा हवाई विभागको नियन्त्रणमा छ । पहिले गौचरन भएको हुनाले गाईले चर्न पाउनुपर्छ भनेर जस्ताको सानो टहरो हालेर सेल्टर बनाएका छौं ।’

त्यही क्रममा उनले सेल्टरको नाम ‘असहाय गाईबाच्छा संंरक्षण अभियान’ राखेका छन् ।

 

उद्धार गर्न समस्यै समस्या

कतै सडक गाईबाच्छा दुर्घटनामा परे भने उद्धारको लागि उनलाई फोन आउँछ । तर तिनको उद्धार गर्न सजिलो छैन । भाडामा गाडी खोजेरै भए पनि उनले गाईबाच्छाको उद्धार गर्छन् ।

‘सवारीसाधनको पहुँच हुनेले सेल्टरसम्म ल्याइदिन्छन्, नत्र आफैं पुग्नुपर्छ’, उनले भने, ‘घाइतेलाई उद्धार गरेर ल्याइसकेपछि तिनीहरूले विभिन्न रोग ल्याउन सक्ने भएकाले पशुचिकित्सकको निगरानीमा नै राखिन्छ ।’

गाईबाच्छा उद्धारको लागि उनको समूह उपत्यकाभित्र मात्र नभई उपत्यका बाहिर काभ्रेको पनौती, धुलिखेल पनि पुग्छन् । बेलुका ४ बजेदेखिको रुटिन नै तिनीहरूलाई दानापानी खुवाउने र राति जाडोमा कठ्याङ्ग्रिएर बिरामी पर्ला कि भनेर सोत्तर राखेर स्याहार गर्दै रातको ९ बजिसक्छ ।

दुई वर्षदेखि अहोरात्र घाइते गाईबाच्छाको उद्धारमा खटिएका पुडासैनी अनौपचारिक रूपमा भने ८ वर्षअघि नै तिनको सेवामा लागेका थिए ।

पाँच दशक भन्दा लामो यात्रामा निकै उतारचढाव भोगे र आज त्यही अभियानमा जुट्नु नै ठूलो सफलता मान्छन् उनी । किनकि अमेरिकाको बसाइँ छाडेर बाँकी जिन्दगी यसैमा समर्पित गर्न लागिपरेका छन् ।

उनी भन्छन्, ‘मलाई यो अभियानमा जुटाउने माध्यम नै समाजसेवा भाव हो । वागमती सफा गर्ने अवसर पाएरै मैले यसरी असहाय गाईबाच्छाको उद्धार अनि सेवा गर्न पाएको छु ।’

अमेरिकाबाट फर्केर गाईको सेवा

१० वर्ष अमेरिका बसेर नेपाल फर्किएका हुन्, उत्तम । अमेरिका जानुअघि र फर्कँदाको काठमाडौंको परिवेश फरक थियो ।
काठमाडौं आउनेवित्तिकै उनी बागमती नदी हेर्न गए । परिवर्तित बागमतीको दृश्यले उनको मथिङ्गल हल्लायो । सुन्दर वागमतीमा फोहोर र ढल बाहेक केही पाएनन् । ‘अरूको देश सुन्दर हुनसक्छ भने मेरो देश किन सुन्दर हुन सक्दैन ?’ आफैंलाई प्रश्न गरे ।

त्यसपछि उनले अठोट लिए- अमेरिका फर्कने होइन यहीं समाजसेवामा लाग्नुपर्छ । यही भावले अमेरिका जान पूर्णविराम लगाए । र, जुटे सफाइ अभियानमा । त्यतिबेलासम्म उत्तम गाईबाच्छाको उद्धारमा लागेका थिएनन् ।

वागमती सफाइ अभियानलाई सार्थक बनाउन उनी एकचित्त भएर लागे । एकदिन वागमती सफा गरिरहेका बेला उनको आँखा किनारमा गाडेको गाईको बाच्छामा प¥यो । त्यसपछि उनले मारेर गाडेका थुप्रै गाईबाच्छा भेट्टाए । जुन दृश्यले उनलाई निकै गम्भीर बनायो । ‘एकदिन त हामीले १८ वटा गाईबाच्छा गाडेको भेट्यौं, जुन मैले कल्पनै गरेको थिइनँ’ उनले सम्झिए ।

त्यो दृश्यले उत्तमको समाजसेवा गर्ने पाटो नै बदलिदियो । ‘ती गाईबाच्छा गाड्दै गर्दा कतिपय अवस्थामा मेरा पनि बच्चा छन्, मेरा बच्चाको अनुहारमा ती गाईबाच्छाको अनुहार देख्न थालें । त्यसपछि अब यिनीहरूलाई गाड्ने होइन, गाड्नै नपर्ने गरी के गर्ने त ? भनेर सोचें र यिनलाई जोगाउनुपर्छ भन्नेतिर लागें ।’

उनी अगाडि भन्छन्, ‘शुरूमा हामीले बाल्टिनमा पानी बोकेर कहाँ–कहाँ गाईबाच्छा छन् भनेर खोज्दै खुवाउँदै हिंड्यौं । त्यसपछि अब एकीकृत गर्नुप¥यो भनेर एअरपोर्टको गौचरनमा एउटा छाप्रो बनाएर राखिदिएँ । त्यसपछि पानी घाँस–पराल दिने काम गर्न थालें ।’

यसलाई यत्तिकै छोड्नु हुँदैन भनेर वागमती अभियानमा लागिराखेका अभियानकर्मीसँग ज्यूँदा बाच्छाबाच्छीको औपचारिक रूपमा उद्धार गर्नुपर्ने प्रस्ताव राखें ।

तर, तिनै साथीबाट प्रतिक्रिया भने उल्टो पाएँ । यस्तो काममा हात हाल्नुहुँदैन र सकिंदैन भनेर सबैले हात झिके । उनले पाँच वर्ष अगाडि नै यो अभियान शुरू गर्न खोजेका थिए । तर समूहमा कुरा गर्दा साथीहरू इच्छुक भएनन् ।

‘शुरूमा गर्ने कि नगर्ने द्विविधा भयो । यो गर्नुपर्छ भनेर ती प्राणीमा आफ्ना बच्चाको अनुहार देख्न छाडेपछि ती प्राणीको पीडाले त पोल्छ । त्यहाँबाट पछाडि फर्किन सकिनँ र आफैंले आँटें’ त्यतिबेलाको अनुभव सुनाए ।

१ जेठ २०७६ बाट औपचारिक रूपमै शुरू गरेको त्यो अभियान आज पनि निरन्तर छ ।

एक मन्त्रीले एम्बुलेन्सको साँचो दिए, अर्कोले खोसे

उनले चौपाया माथि हुने क्रूर अत्याचार र दमनको अन्त्यका लागि प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न सरकारी निकायमा पत्र पठाएर केही पहल गर्न उनले आग्रह गरे । तर सरकारीस्तरबाट कसैले चासो दिएनन् । उनी आजित भए ।

निकै लामो प्रयासपछि केही समयअघि लक्ष्मीपूजाको दिन वागमती प्रदेशले गाईबाच्छा उद्धार गर्न एउटा एम्बुलेन्स उपलब्ध गरायो । वागमती प्रदेशका भौतिक योजनामन्त्री रामेश्वर फुँयालले गाईबाच्छाको उद्धार गर्ने विशेष एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । तर सोही प्रदेशका कृषिमन्त्री दावा लामाले संस्थालाई एम्बुलेन्स दिन नमिल्ने भन्दै बिहान हस्तान्तरण भएको साँचो बेलुका फिर्ता लगे । ‘सरकारी सहयोग भनेको यस्तै हुँदोरहेछ भनेरै चित्त बुझाएँ’ उनले दुखेसो पोखे ।

घाइते गाईबाच्छालाई उद्धार गर्न निकै कठिन हुन्छ । यिनीहरूको तौल पनि बढी हुने भएकाले बेलाबेलामा समस्या आउने गर्छ ।

घाइते गाईबाच्छालाई उद्धार गर्दा मानिसहरूले हात अगाडि बढाउन रुचाउँदैनन् । उद्धार गर्दा वरिपरि रमिते बनेर मान्छेहरुले हेरिरहेका हुन्छन् । कसैले सहयोग गर्दैनन् । त्यतिबेला उनलाई ननिको लाग्छ ।

जहाँ गाईबाच्छा छाडिंदैनन्, रोपिन्छन् !

उत्तम केही समय अगाडि हेटौंडा पुगेका थिए । त्यहाँ एकजना साथीले सुनाए, ‘उत्तम यहाँ त गाईबाच्छा छाडिंदैन रोपिन्छ ।’ रोपिने भनेको के रहेछ भनेर गमे । जन्मने वित्तिकै बाच्छालाई ज्यूँदै खाडलमा पुरिदिने रहेछन् ।

काँठ क्षेत्रबाट गाईबाच्छा ल्याएर पशुपतिलाई चढाउने भनेर खोलाको किनारमा छोडिदिने चलन छ । जुन दृश्यले उत्तमलाई विचलित बनायो । उनी भन्छन्, ‘देवतालाई चढाउने नाममा पाप गर्नेको ठूलै जमात रहेछ । गाईबाच्छालाई खोलाको किनार र एअरपोर्टको सेरोफेरोमा छोड्नुको अर्थ देवतालाई चढाउनु हुन्छ र ?’ उनले प्रश्न गरे ।

काम भन्दा प्रचार खोज्नेको बिगबिगी

गाईबाच्छाको उद्धार गर्न भन्दै कति अभियन्ता बनेर आए । अहिले २५ वटाभन्दा बढी गाईबाच्छाको संरक्षण गर्नेे संघसस्थाहरू छन् तर कहीं कतै सडक दुर्घटनामा वा कुकुरले टोकेर घाइते भएका गाईबाच्छाको उद्धार गर्न कोही पुग्दैन । कामभन्दा धेरै प्रचार खोज्नेहरू देख्दा दिक्क मान्छन् उनी ।

शहरमा छाडा पशुचौपाया देखिन छाडे, हामीले उद्धार र संरक्षण गरेका छौं भन्दै प्रचार गर्ने पशुपति विकास कोषलाई पशुपति परिसरमा भेटिएका गाईबाच्छा खान नपाएर मर्छन् भन्नेतिर आँखै पुग्दैन । हामीले उद्धार गरेका छौं भन्दै हिंड्छन् तर जवाफ दिंदैनन् ।

‘हामीले सरकार वा कुनै पनि निकायबाट आर्थिक सहायताका लागि याचना गरेका छैनौं’, उनले भने, ‘गोकर्णेश्वर, कागेश्वरी मनोहरा नगरपालिकाका मेयरहरू आएर व्यक्तिगत दुई–चार बोरा भुस अथवा पीठो ल्याइदिएका होलान्, संस्थागत रूपमा उहाँहरू कसैले पनि सहयोग गरेका छैनन् ।’

नगरपालिकाले दुई-चार लाख छुट्याइदिएको छ, लिन आउनुहोस् भन्छन् तर उनको चाहना नगरपालिकाले संरक्षणको जिम्मा लिन्छौं भनिदिए पुग्छ ।

उनी पीडाभाव सुनाउँछन्, ‘त्यो हामीलाई दिने होइन आफूले गर्ने र यस सेल्टरको जिम्मेवारी अब स्थानीय तहले लिनुपर्छ भनेर हामीहरूले दबाब दिइराखेका छौं ।’

सरकारको कमजोरीले अहिले पशुचौपाया सडकमा छोड्ने क्रम बढेको देख्छन उनी् ।

‘सरकारले कृषि क्षेत्रका लागि अनुदानका योजनाहरू ल्याएको छ । जुन सरकार निकटका मान्छेले मनलाग्दी खर्च गरिरहेका छन्’, उनी भन्छन्, सरकारी अनुदान पाउन गाई फर्म सञ्चालनको नाटक गर्नेहरुका कारण पनि सडकमा बेबारिसे गाईबाच्छाको संख्या बढेको हो ।’

गाईबाच्छासित जन्मदिन मनाउन आग्रह

गाईबाच्छालाई घाँस–परालको कमी भयो भने ‘तिम्रो जन्मदिन बाच्छासँग मनाउने हो ?’ भनेर साथीभाइलाई सोध्छन् उनी । नजिकका साथीभाइलाई गाईबाच्छासँग जन्मदिन मनाउन आग्रह पनि गर्छन् । जन्मदिन मनाउन आउनेले एकदिनको दानापानी र पीठो ल्याइदिन्छन् । यसरी नै चलिरहेको छ सेल्टर ।

अहिले उनको समूहमा स्वयंसेवकहरू थपिंदैछन् । २५ जनाभन्दा बढी स्वयंसेवकहरू अहोरात्र खटिन्छन् । नियमित काम गर्ने पाँच जना छन् । अरू कुनै एक दिन आउने पनि छन् ।

अहिले दिनमा दुईतिर गरेर घाँस-परालको लागि न्यूनतम पाँच हजार खर्च लाग्छ ।

यो अभियानलाई निरन्तरता दिन लकडाउनको बेला खासै समस्या परेन । लकडाउन शुरू हुँदैछ भनेर जानकारी हुने वित्तिकै दानापानीको जोहो पहिल्यै भइसकेको थियो । त्यतिबेला त्यति धेरै बाच्छाहरूको उद्धार हुँदैनथ्यो । दुर्घटनामा पनि धेरै नपर्ने भएकाले त्यति मुश्किल भएन । कहिलेकाहीं अभाव हुने स्थिति आयो भने ‘हामी यसो गर्दैछौं, सहयोग गर्नुस्’ भनेर साथीहरूसँग सहयोग माग्छन् ।

यहाँसम्म आइपुग्न उनले ठूलै संघर्ष गर्नुपर्यो । शुरूका दिन उत्तमलाई असहाय गाईबाच्छाको उद्धार र स्याहार गर्छु भन्दा कसैले पत्याएनन् तर पनि उनले हिम्मत हारेनन् । खुलेर नभए पनि विस्तारै परिवारको अनौपचारिक सहयोग पाउन थाले ।

‘म अमेरिकाबाट आएर बाच्छाबाच्छीको व्यापार गर्न लागें भनेर कुरा काट्नेहरू पनि निस्किए । त्यस्ता कुराहरू परिवारले पनि सुने । त्यस्तो सुन्दाखेरि परिवारले झन् सपोर्ट गरे । समाजमा यस्तो कुरा भइरहेछ, यसलाई सकारात्मक तरिकाले अगाडि लैजानुपर्छ है, अगाडि बढ स्टेटडाउन नगर भनेर मेरो लागि थप हौसला मिल्यो’, खुशी भावले सुनाए ।

आफन्तसित विद्रोह !

तर, लकडाउनको बीचमा उनले ठूलै विद्रोह गर्नुपर्यो । पेशाले डाक्टर दाइकी छोरीले एकदिन भनिन्, ‘काका तपाईंको कारणले मेरो घरमा कोभिड भित्रियो भने राम्रो हुँदैन !’

उनी बिहे भएर भर्खरै श्रीमान्को घर गएकी थिइन् । उत्तमले छोरीलाई मुखै फोरेर भन्दिए, ‘मलाई लाग्ने कोभिडले तिमीलाई छुँदैन, तिमी माइत नआउन सक्छ्यौ तर म यो क्याम्पेन छोड्न सक्दिनँ ।’ तर अहिले उनलाई परिवारको भने साथ छ ।

उत्तमले सुनाए, ‘जब मैले लकडाउनको बेलामा दानापानीको अभाव भयो भनेर सामाजिक सञ्जालमा पोष्ट गरें त्यसपछि मेरो बुबाले २० हजार रुपैयाँ दिनुभयो र ‘ती बाच्छाबाच्छीलाई एकदिन पनि भोकै नराख है’ भन्नुभयो । जुनकुराले मन औधी खुसी भयो ।’

उत्तमको समूहले नगरपालिकालाई बेबारिसे पशुचौपायाको व्यवस्थापन गर्न दबाब दिइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ