सर्वदलीय बैठकमा विपक्षी: राजतन्त्रको समर्थनमा आन्दोलन हुनुमा सरकार नै जिम्मेवार – Nepal Press

सर्वदलीय बैठकमा विपक्षी: राजतन्त्रको समर्थनमा आन्दोलन हुनुमा सरकार नै जिम्मेवार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी लगायतका दलले राजतन्त्रका पक्षमा प्रदर्शन हुनुमा सरकार नै जिम्मेवार रहेको अरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरुले सरकारकै कारण असन्तुष्टि प्रकट भएको बताएका हुन्।

‘सरकारले गलत काम गरेको हुनाले विभिन्न रुपमा असन्तुष्टि प्रकट भइरहेको छ,’ आफ्ना नेताहरुले राखेको धारणाको सार सुनाउँदै नेता प्रकाशशरण महतले भने,‘राजवादी वा अरु नाममा सडकमा प्रकट भएको पनि त्यही हो ।’

महतका अनुसार अहिले प्रदर्शन बढ्नुमा सिस्टम वा लोकतन्त्रको खराबी नभइ सरकार सञ्चालन गर्नेहरुको खराबीका कारण भएको र सरकार सच्चिए त्यो पनि मत्थर हुँदै जाने धारणा नेताहरुले राखेका थिए।

बैठकमा कांग्रेस नउप–सभापति विजय गच्छदार, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि लगायतले धारणा राखेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्ना भनाइ नराखी बैठकको बीचमै निस्किएका थिए।

जनता समाजवादीका नेतालेहरुले पनि सरकारले राम्रो काम नगर्दा जनतामा असन्तुष्टि पैदा भएको र त्यहि असन्तुष्टि अहिले सडकमा देखिएको धारणा राखेका थिए। प्रतिगामीहरुले जनताको सरकारप्रतिको असन्तुष्टि उपयोग गर्ने कोशिस गरेको उनीहरुको भनाइ थियो। समाजवादीकातर्फबाट अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागि थिए।

बैठकमा राजतन्त्रको पक्षमा भएका आन्दोलनमा आफूहरको नैतिक समर्थन रहेको बताएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दिपक बोहराले बताए।

करिब तीन घण्टासम्म चलेको बैठकमा प्रधानमन्त्री ओलीले नेताज्यूहरूलाई स्वागत गर्दै शुरूमै आफ्ना धारणा राखेका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्थ थापाका अनुसार प्रधानमन्त्रीले सर्वदलीय छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारेका थिए ।

उनले कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका थिए।

सबै दलका नेताहरुले धारणा सुनेपछि अन्तिममा पुन बोलेका प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गर्दा गर्दै पनि आलोचना भएको गुनासो गरेका थिए। एक नेताका अनुसार त्ससबाहेक ओलीले खासै बालेनन् ।

राजतन्त्रका पक्षमा सडकमा भइरहेको आन्दोलनप्रति सरकारले कस्तो व्यवहार देखाउँछ भन्ने बारे पनि खासै खुलेर राधणा रोखनन् ।

बैठकमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरु सहभागि थिए ।

त्यस्तै, प्रतिपक्षी कांग्रेसका तर्फबाट सभापति तथा पूर्वप्रधानमन्त्री देउवा, उप–सभापति गच्छदार, वरिष्ठ नेता पौडेल, नेता निधि, महतलगायत थिए ।

जनता समाजवादीकातर्फबाट अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव थिए भने नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल थिए ।

राप्रपाबाट भने अध्यक्ष कमल थापा उपस्थित थिएनन् । पार्टीका तर्फबाट दीपक बोहोरा सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर