काठमाडौं । महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट काज सरुवा गरिएका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झा पुनः पुरानै ठाउँमा फर्केका छन् । सामाजिक अभियन्ताहरुसँग विवादको भिडियो भाइरल भएपछि उनी चर्चामा आएका थिए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा तानिएका झा काज सरुवा फिर्ता भएपछि फेरि महाराजगञ्ज प्रभागमा फर्केका हुन् । आज बेलुका उनी हाजिरसमेत भइसकेको प्रहरी स्रोतले बतायो ।
‘उहाँ आफ्नै इच्छाले सरुवा हुनुभएको थियो, आफ्नै इच्छाले फर्किनुभएको हो,’ स्रोतले भन्यो ।
ज्वाला संग्रौला लगायतका सामाजिक अभियन्ताले असई झालाई ‘एनि हाउ सरुवा गराइदिने’ चेतावनी दिएका थिए । उक्त भिडियो भाइरल भएपछि प्रहरीलाई झाको सरुवा फिर्ता गर्न दवाव परेको बुझिएको छ ।